अब वैदेशिक रोजगारीको अवस्थाबारे तथ्यांक राखिने
मकवानपुर । सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्यांक राख्न थालेको छ। अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्यांक राख्न थालिएको हो। अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्यांक भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो। अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्यांक पनि पाइने भएको छ। वैदेशिक रोजगार विभागका अनुसार विभागबाट दैनिक औसतमा एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि अन्तिम श्रमस्वीकृति लिने गरेका छन्। अब अध्यागमन विभागले पनि छुट्टै तथ्यांक राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिने, कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्यांक आउने विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिनुभयो। आजको गोरखापत्र दैनिकले यो खबर लेखेको हो ।