एसियाकै पूरानो सुरुङमार्ग पुन : र्निर्माण गरिने

रिपेश दाहाल
१३ फाल्गुन २०७६, मंगलवार १२:५३

मकवानपुर । बाग्मती प्रदेश सरकारले एसियाकै पुरानो सुरुङमार्गको पुननिर्माण गर्ने भएको छ । वर्तमान सन्दर्भमा व्यवसासयिक प्रयोगका लागि उपयुक्त नभएपनि ऐतिहासिक सम्पदाको संरक्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि सुरुङ्गमार्गको जिर्णोद्धार गरेर पुनसञ्चालनमा ल्याउने योजना अगाडि सारिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । तत्कालीन समयमा एसियाका विशाल र शक्तिशाली भनिएका देशहरुले बनाउन नसकेको सुरुङमार्ग नेपाली प्राविधिक र कमदारहरु समेत नेपाली नै प्रयोग गरेर निर्माण हुनु आफैमा गौरवपूर्ण ऐतिहासिकता भएको उनको भनाई छ । त्यो इतिहासको प्रचार प्रसार गर्नु तथा पर्यटन प्रवद्र्धन गर्नु एवं विकासका परम्परागत प्रविधिहरुको बारेमा अध्ययन गर्ने स्थलको रुपमा विकास गरेर विगतमा के कस्ता सामाग्रीहरुको प्रयोग कसरी गरिदो रहेछ भन्ने जानकारी वर्तमान पुस्ता र भावी पुस्तालाई समेत गराउने उद्देश्य सहित व्यवस्थित र सुरक्षित तवरले पुननिर्माण गरिने उहाँको भनाई छ ।

प्रदेश दुईसंग समेत सहकार्य गरेर सुरुङ्गमार्गलाई आकर्षक हिसाबले पुननिर्माण गरिने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल बताउँनछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पर्यटनमय बनाउने योजना तथा मुख्यमन्त्री डोरमणि पौडेलको परिकल्पनामा काम भइरहेको बताउदै मन्त्री फुयाँलले बैशाखदेखि काम शुरु गरिने जानकारी दिए । मन्त्री फुयाँलले नेपालकै पहिलो सुरुङमार्गको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको उल्लेख गरे । चुरियामाई मन्दिर र सुरुङ्गमार्ग प्रवेश गर्ने स्थानमा आकर्षक प्रवेश द्वार निर्माण गरिने उनले बताए । पुरातत्व विभागसंग समन्वय गरेर काम गरिने उनको भनाई छ ।

इतिहास : 
‘हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी’ वि.सं. १९७३ सालमा पाँचौ राणा प्रधानमन्त्री चन्द्रसमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौंडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयले यस्तो गीत बनाएका थिए । उक्त गीत बुढापाकाहरु हिजोआज समेत गुन्गुनाउछन् । आफ्नो २८ वर्षे साशनकालमा चन्द्र समशेरले थुप्रै विकास निर्माणका काम गरेका थिए । त्यो काम मध्येको महत्वपूर्ण काम थियो अमलेखगञ्ज देखि भीमफेदीसम्मको मोटरबाटो । सोही खण्डमा पर्ने बारा र मकवानपुर जोड्ने विशाल चुरे पहाडलाई प्वाल पारेर द्रुतमार्ग(सुरुङ) बनाइएको थियो ।

त्यस समय भारतबाट बाराको अमलेखगञ्ज सम्म रेल आउथ्यो भने अमलेखगञ्जदेखि मकवानपुरको भीमफेदीसम्म मोटर बाटो पुगेको थियो । भीमफेदीबाट काठमाण्डौं जाने मोटरबाटो नभएपनि सानागाडीहरु बोकाएरै काठमाण्डौं पुर्‍याइन्थ्यो । अमलेखगञ्ज भीमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरेमा भने मोटर उक्लन निक्कै गाह्रो थियो ठाडो उकालो भएको कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने, समय र इन्धनको समेत खर्चबढी हुने भएपछि सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

आजभन्दा १०३ वर्ष अघि बनेको त्यो सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एसियामै सुरुङमार्ग नभएको त्यही समय नेपाल आएका भूगोल शास्त्रि टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौं आश्चर्यको रुपमा उल्लेख गरेका छन् । स्वीस्टसजरल्याण्डबाट नेपालको खानीहरु लगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किंडम अफ नेपाल’ मा यो सुरुङमार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

नेपालको पहिलो इन्जिनियर डिल्लीजंग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपिठ चुरियामाईको मन्दिर छ । इन्जिनियर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किम्वदन्ती पाइन्छ । चुरिया सुरुङ, हेटौंडा-काठमाडौं रोपवे, धरहरा , शीतल निवास र घण्टाघरको पुननिर्माण, नेपालको प्रथम रेलवे जनकपुर–जयनगर रेलवे निर्माण आदि महत्वपूर्ण निर्माणहरु गरेका इन्जिनियर थापाले विदेशबाट महंगा उपकरणहरु झिकाएर चुरेको पहाड काटेर फाल्नु भन्दा नेपाली श्रमिकहरु र नेपाली उत्पादनहरुकै प्रयोग गरेर सुरुङ निर्माण गर्नु उपयुक्त र सस्तो समेत हुने ठानेर सुरुङ निर्माण गरेको बताइन्छ ।

९ फिट चौंडाई र १० फिट उचाई भएको यो सुरुङको लम्बाई भने ६ सय मिटरको रहेको थियो । हाल एकापट्टीको भाग भत्किएर बरिब १०० मिटर जति पुरिएको जनाइएको छ । त्रिभुवन राजपथको सञ्चालनपछि बि.सं.२०१८ सालदेखि सुरुङमार्गको प्रयोग हुन छोडेको स्थानीय अग्रज बताउछन् । २०१३ सालमा आफू ललितपुरबाट भारत जाँदा बाइरोडको बाटो हुँदै चुरियाको सुरुङमार्ग छिरेर गएको सम्झन्छन् मकवानपुरगढी गाउँपालिकाका ८३ वर्षीया भीमप्रसाद घिमिरे । घिमिरेका अनुसार बाइरोडको विस्तारपछि सुरुङमार्गको प्रयोग नभएपनि ४५ सालसम्म पैदल आउजाउ गर्न मिल्नेगरी दुबैतर्फ प्वाल थियो । ४५ सालको भूकम्पपछि भने एकतर्फको प्वाल टालियो । त्यपछि भने गोठालाहरुको ओतलाग्ने ठाउँको रुपमा र चुरियामाईको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको डुलघुम गर्ने स्थानको रुपमा मात्र रहेको सुरुङमार्गलाई २०७२ सालको भूकम्पले थप क्षतिग्रस्त बनायो । त्यसपछि पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेर त्यहाँ छिर्न तथा अवलोकन गर्न निषेध गरेको छ ।

प्रदेश सरकार गठन भएपछि भने यो सुरुङमार्गले चर्चा पाउन थालेको छ । यसको जिर्णोद्धार गर्न भन्दै प्राविधिकहरुबाट पटक पटक निरीक्षण भएर अध्ययन थालिएको जनाइएको छ । हेटौँडा उपमहानगरपालिकाले पनि सुरुङको प्रवेशद्वार नजिकै सुरुङ्गमार्गका डिजाइनर इन्जिनियर थापाको शालिक निर्माण गर्ने भएको छ । सुरुङको मुखै नजिक थापाको अर्धकदको शालिक बनाउने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । ऐतिहासिक सुरुङमार्गको विकास र संरक्षणमा उपमहानगर लाग्ने उपमहानगरपालिकाका सामाजिक क्षेत्र हेर्ने अधिकृत रामकृष्ण थापाले जानकारी दिए ।
दाहाल, राससमा आबद्द पत्रकार हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*