बजेट सक्न भ्रमण वर्ष सचिवालयको टोली लुम्विनीमा

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १३:१४

मकवानपुुर । सरकारले कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्षको काम स्थगित गरेको छ। तर भ्रमण वर्ष सचिवालयले भने बजेट खर्चने वहानामा सातै प्रदेशका संयोजक सहितको सचिवालयको भेला लुम्विनीमा आयोजना गरेको छ।

भाइरसका कारण पर्यटक आउन नसके पछि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गरेको थियो। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा गरेको भ्रमण वर्ष स्थगित गर्ने घोषणा गरेको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणको भयका कारण स्थगित भ्रमण वर्षका कार्यक्रम सञ्चालनका सन्दर्भमा छलफलका लागि भ्रमण वर्षका केन्द्रीय कार्यक्रम संयोजक सुरज वैद्य, सातै प्रदेशका संयोजक र सचिवालय सदस्य सहितको बैठक लुम्बिनीमा बिहिबार बसेको छ ।

अन्तराष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने लक्ष राखेर शुरु गरिएको कार्यक्रम भए पनि विदेशी पर्यटक ठप्प भए पछि भ्रमण वर्ष सचिवालयको औचित्य समाप्त भएको छ। लक्ष अनुसार काम नहुने भए पछि सचिवालय खारेज गरी अन्य वर्षमा अभियान शुरु गर्नु पर्ने सुझाव पर्यटन व्यवसायीहरुले दिएका छन्।

बैठकमा कोरोनाको सङ्क्रमणका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असर, यसलाई कसरी सामान्य बनाउने र आगामी कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुने भ्रमण वर्ष प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए।

भ्रमण वर्षका कार्यक्रम संयोजक तथा वरिष्ठ उद्योगपति सुरज वैद्यले विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै भ्रमण वर्षका कार्यक्रम हाललाई स्थगित गरिएको बताए। भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन रहने भएकाले यो कुनै एउटा वर्षमा मात्र हुने नभई हरेक वर्ष कुनै न कुनै कार्यक्रमका रुपमा कार्यक्रम सञ्चालन हुनुपर्ने बताए।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*