भक्तपुरका फार्मेसीले ‘मास्क छैनु लेखिएको बोर्ड झुण्ड्याउन थाले
मकवानपुर । भक्तपुर नगरपालिका-१ च्यामासिंहमा रहेको साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ ।
च्यामासिंह मेडिकल मात्रै हैन भक्तपुरका अधिकांश औषधि पसल तथा क्लिनिकले यस्ता बोर्ड झुण्ड्याउन थालेका छन् । औषधि पसलमा आउने ग्राहकलाई मास्क र ह्यान्ड सेनिटाइजर छैन भन्दाभन्दा हैरान भएपछि फार्मेसीहरुले बोर्ड राख्न थालेका हुन् ।
साँचो फार्मेसी सञ्चालन गर्दै आउनु भएका चन्द्र प्रजापति एक हप्तादेखि मास्क बिक्री गर्न नपाएको बताउनुहुन्छ । भित्तामा बोर्ड राख्नुभएका आरती फर्माका सञ्चालक सुविन श्रेष्ठ भन्नुहुन्छ ‘कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन । एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो’।
च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठले पनि डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औषधिको पनि अहिले माग बढेको जानकारी दिनुभयो । काठमाण्डौको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारबाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।
श्रेष्ठले कोरिया नेपालमैत्री अस्पताल ठिमीमा बीमाको औषधि लिनेको घुइँचो लागेको बताउनुभयो। औषधि व्यापारी पनि डिलरले औषधि कम पठाउन थालेको बताउँछन् । मध्यपुरथिमिमा औषधि व्यापार गर्दै आउनुभएका क्लिनिक सञ्चालक राजेन्द्र श्रेष्ठले मिडियाले हल्ला फैलाएपछि समस्या आएको गुनासो गनुहुन्छ।
जिल्ला अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले एकरदुई महिना मात्रै म्याद रहेका औषधि र कतिपय म्याद गुज्रेका औषधिसमेत बिक्री गर्न थालेको उपभोक्ता गुनासो गर्छन् ।
उपभोक्ता सचेत नहुँदा अझै पनि अन्तिम मिति हेरेर औषधि नलैजाने गरेकाले उपभोक्ता सजिलै ठगिने क्रम पनि बढेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजारअनुगमन गर्ने बताउनुहुन्छ ।उज्यालो अनलाईन डटकमबाट