महेन्द्रनगर–दिल्ली चल्ने बस अनिश्चितकालका लागि बन्द
मकवानपुर । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँदिल्ली र देहरादुन बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दुई देशका अधिकारीको सहमतिमा भारतबाट नेपाल र नेपालबाट भारततर्फ चल्दै आएको मैत्री बस सेवा सोमबार (आज)बाट अनिश्चितकालका लागि बन्द गरिएको हो ।
दैनिक रुपमा नेपाल र भारततर्फका गरि १३ वटा बस सञ्चालन हुँदै आएका थिए ।
जसमा भारतको उत्तर प्रदेश र उत्तराखण्ड परिवहन र नेपालको महाकाली यातायात तथा पवनदूत यातायातका बस सञ्चालन हुँदै आएका थिए ।
महेन्द्रनगर बसपार्कबाट दैनिक भारतको राजधानी नयाँदिल्ली र देहरादुनमा गड्डाचौकी–बनबासा नाका हुँदै नेपाल तथा भारतको बससेवा सञ्चालन हुँदै आएको थियो ।
अन्य छोटो दुरीका सवारीसाधन भने सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
भारतमा कोरोना भाइरस देखिएपछि सीमामा समेत सतर्कता अपनाइएको छ ।
नेपाल र भारत दुवै देश प्रवेश गर्ने नाकामा हेल्थ डेस्क राखिएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक सयौं नेपाली र तिर्थयात्री भारत जाने गरेका छन् । महेन्द्रनगर बसपार्कबाट छुट्ने बससेवा बन्द भएपछि भारतको बनबासाबाट नेपालीले बस चढ्नुपर्नेछ ।
यातायात व्यवस्था विभागका प्रवक्ता तिर्थराज खनालका अनुसार भारतसँग जोडिएका अन्य रुटको बससेवा भने बन्द भएको छैन ।
नेपाल–भारत सीधा सञ्चालनमा रहेका बस सेवा रुट स्
काठमाडौं–पटना–बोधगया
काठमाडौं–सिलगुडी
जनकपुर– पटना
नेपालगञ्ज–बरेली–मोर्दालाबाद –हरिद्धार
नेपालगञ्ज– लखनउ
नेपालगञ्ज– दिल्ली
काठमाडौं–गोरखपुर
काठमाडौं–गोरखपुर–लखनउ–दिल्ली
काठमाडौं–आदमगड–वाराणासी
पोखरा–लखनउ–दिल्ली
जनकपुर–सुरचण्ड–मुजब्फपुर–गोपालगञ्ज–गोरखपुर–अयोध्या
नेपाल–भारतबीच थप प्रस्तावित रुट
धनगढी–गौरिफन्टा–दिल्ली
दाङ–रुपैडिया–दिल्ली
दाङ–रुपैडिया–लखनउ
बाह्रखरी डटकमबाट