कोरोना भाइरसको कहर, मलेसिया १४ दिनका लागि ‘लकडाउन’
मकवानपुर । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को थप संक्रमण फैलिन नदिन मलेसिया सरकारले १४ दिनका लागि देशका प्राय सबै भाग ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनले एक टेलिभिजन सम्बोधनमार्फत बुधबारदेखि लागू हुने गरी १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिए ।
१४ दिनका लागि मलेसियाले कुनै पनि विदेशीलाई प्रवेश गर्न दिने छैन । यस्तै, आफ्ना देशका नागरिकलाई पनि जरुरी र अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर घुम्न रोक लगाइने छ । मलेसियाका नागरिकलाई देश बाहिर जान पनि रोक लगाइएको प्रधानमन्त्री यासिनले बताएका छन् ।
मलेसियाले सबै शैक्षिक संस्थाहरु बन्द गरेको छ । साथै, कुनै पनि भेला, खेलकुद प्रतियोगिता र धार्मिक गतिविधिहरु गर्न पाइने छैन ।
पछिल्ला २ दिनमा मात्रै मलेसियामा ३१५ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । मलेसियामा सोमबारसम्म ५५३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।खबरहब डटकमबाट